पोखरा, ७ चैत्र
नेकपा–माओवादी निकट आदिवासी–जातीय–क्षेत्रीय महासंघ, तमुवान राज्य समन्वय
समितिको संयोजकमा तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल (क्रान्तिकारी)का
केन्द्रीय संयोजक बुद्धिराम तमु चयन हुनुभएको छ ।बुधबार सम्पन्न महासंघको प्रथम तमुवान राज्य भेलाले पूर्व सभासद् समेत रहनुभएका तमुलाई संयोजकमा चयन गरेको हो । त्यसैगरी, ११ सदस्यीय समितिको सह–संयोजकमा लोकबहादुर थापामगर, सदस्यहरूमा सन्तबहादुर तमु, अशोक छन्त्याल, रूद्रबहादुर श्रीसमगर, भीमबहादुर तमु, सतीमाया तामाङ, ओमबहादुर मगर, हिराबहादुर कुमाल र माया चेपाङ रहनुभएको छ । एक सदस्य पछि थपिने संयोजक तमुले जानकारी दिनुभएको छ ।
सो भेलामा तमुवान राज्य अन्तर्गतका कास्की, स्याङ्जा, पर्वत, लमजुङ, तनहुँ र गोरखाका महासंघ आबद्ध जातीय मोर्चाका प्रतिनिधिहरू सहभागी थिए ।
भेलालाई सम्बोधन गर्नुहुँदै भेलाका प्रमुख अतिथि समेत रहनुभएका नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’ले आदिवासी जनजातिलगायतका उत्पीडित जातिहरूको मुक्तिका लागि आफ्नो पार्टी दृढतापूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न एमाओवादी नेतृत्वले नचाहेका कारण नै आफूहरूले पार्टीबाट अलग्गिनु परेको भन्नुहुँदै नेता श्यामले पहिचानसहितको संघीयताका पक्षमा नेकपा–माओवादी झन् दृढ भएर लाग्ने बताउनुभयो ।
भेलामा पार्टीको नीति एवं रणनीतिका बारेमा नेकपा–माओवादी तमुवान राज्य समितिका सह–सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’ले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
सो भेला संयोजक बुद्धिराम तमुको अध्यक्षतामा सम्पन्न भएको थियो भने लोकबहादुर थापामगरले समितिको नाम प्रस्ताव गर्नुभएको थियो ।


0 comments to "आदिवासी–जातीय–क्षेत्रीय महासंघ तमुवानमा बुद्धिराम तमु"